विपत् व्यवस्थापनमा सुरक्षा निकायहरुको भूमिका

शान्ति–सुरक्षा वाहेक नेपालका सुरक्षा निकायहरु दैवीप्रकोप तथा विपत् व्यवस्थापन, विकास–निर्माण र पर्यटकीय तथा अन्य उद्घार कार्यहरुमा समेत निकै सकृय रहेको कुरा सर्वबिदितै छ । बेला बेलामा यति ठुलो संख्यामा सुरक्षा बललाई किन पालेर राखेको ? मुलुकले ठुलो खर्च यस्तो सुरक्षा व्यवस्थामा फजुलमा किन गरिरहेको होला ? भन्ने जस्ता कुराहरु विभिन्न जमघट र फोरमहरुमा चलिराख्छन् । तर वास्तविकता के हो भने, विश्वमा सुरक्षा सम्बन्धी बनेका मापदण्डहरुले पनि मुलुकको जनसंख्याको करिव दुई प्रतिशत मानव संसाधन कुनै न कुनै किसिमबाट विभिन्न खाले सुरक्षाहरुको लागी बनाएर राखिरहनु पर्ने सुझाव दिँदारहेछन् । सुरक्षा बन्दोबस्तीका लागी बहालवाला व्यक्तिहरुका साथै अवकाश प्राप्त र सुरक्षा सम्बन्धि तालिम लिएका व्यक्तिहरुको सञ्चित बल पनि तयार गरेर राख्न सकिन्छ । राज्यले ठुलो धनराशी खर्च गरेर खडा गरेको सुरक्षा बललाई सुरक्षाको कामको अतिरित्त विभिन्न रचनात्मक कामहरुमा लगाएर मुलुक र जनताको हितमा लगाउन सकिन्छ ।
केही वर्ष पहिले गएको महाभूकम्प कै बेलाको परिस्थितिलाई एक पटक हामी सम्झौँ न । त्यतिबेला मुलुकका तिनै थरी सुरक्षा निकायहरुले उद्घार कार्यमा कति ठुलो योगदान गरेका थिए । आफ्नो ज्यानको बाजी राखेर उनिहरुले धेरै मानिसहरुको ज्यान जोगाएको हामीले आफ्नै आँखाले देखेका छौँ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा सुरक्षा निकायलाई आवश्यक पर्ने उपकरण र बन्दोबस्तीका सामानहरुको पनि सँधै कमी नै भइरहेको हुन्छ । तर आफुसँग जे जति पनि श्रोत र साधन छ, त्यसैलाई उपयोगमा ल्याएर यिनले जेनतेन आफ्नो दायित्व पुरा गर्दै आएका छन् ।
आज मुलुक कोरोना भाइरसको संक्रमणको खतरापुर्ण स्थितिबाट गुज्रिरहेको छ । यस्तो बेलामा पनि यो संक्रमणलाई काबुमा राख्न चिकित्सकहरु र स्वास्थ्य सम्बन्धी कर्मचारीहरुलाई सुरक्षा निकायको निकै भर पर्नुपर्ने भएको छ । किनकी यस्ता अप्ठ्यारा परिस्थितीहरुमा खट्न सुरक्षा बलले वाहेक अरुले सक्दैनन् र चाहँदैनन् पनि । यस्ता कार्यहरुमा निजी अस्पतालहरु र स्वास्थ्य संस्थाहरुको समेत अर्कमण्यता रहने गरेका धेरै उदाहरणहरु त हामीले आजका दिनहरुमा नै देखिरहेका छौँ । पछिल्लो एक हप्ता देखि हामी नागरिकहरु लकडाउनले गर्दा घर घरमा बसिरहेका छौँ भने हाम्रा सुरक्षाकर्मीहरु र सरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरु भने रातदिन कोरोनाको संक्रमण हटाउने कार्यमा लागी परिरहेका छन् । उन्का पनि त परिवार छन् । बाउ–आमा, छोरा–छोरी छन् । तर के गर्ने, उनिहरुको प्राथमिक जिम्मेवारी नै जनताको सुरक्षा र सेवा गर्ने काम भएपछि । त्यसैले पनि उनिहरुले आफ्ना परिवार, नातागोता र आफन्त भन्दा पनि माथि उठेर पहिले जनहितका कामहरु गर्नु परेको छ ।
आपत विपतको समयमा वाहेक सामान्य परिस्थितिमा पनि हाम्रा सुरक्षा निकायहरुले विकास निर्माणका कार्यहरुमा सरकार र जनतालाई सघाएका नै छन् । नयाँ राजमार्गका ट्र्याक खोल्ने काममा होस् वा विकास–निर्माणका आयोजनाको सुरक्षा गर्ने काममा होस्, या अझ भनौँ पर्यटक र हिमाल आरोहण गर्न जानेहरुको उद्घार गर्नुपर्दा होस् । विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्ने कामबाट पनि एकातिर हाम्रा सुरक्षा निकायहरु निकै लोकप्रिय भएका छन् भने अर्को तर्पm यस्ता कार्य गर्न जाँदा बहुराष्ट्रिय सेना र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट समेत धेरै कुराहरु सिक्ने अवसर पाएका छन् यिनले ।
हाल नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको मातहतमा केही मात्र अस्पतालहरु छन्, र ती पनि खासगरी आफ्नै कर्मचारीहरु र परिवारको स्वास्थ्योपचारका निम्ति । तर हामीले यदि ती अस्पतालहरुको अवलोकन गर्ने हो भने ती सबै सफासुग्घर र व्यवस्थित तवरले चलाइएका पाउने छौँ । हालको महामारीको अवस्थाले के देखाएको छ भने यस्तो बेला निजी अस्पतालहरु माथि मात्र निर्भर रहनु निकै महँगो पर्दोरहेछ र मुलुकमा हाल विद्यमान सरकारी अस्पताल, स्वास्थ्य चौकी, प्याथोलोजी ल्याब, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु आवश्यकता भन्दा निकै कम रहेछन् । तर विगतको अनुभवले के पनि देखाएको छ भने सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन निकै कमजोर हुन्छ र त्यसैले यिनले प्रदान गर्ने सेवाहरुको स्तर औषतन तल्लो नै हुन्छ । यस्तो परिस्थितिमा सरकारी अस्पतालहरुको संख्या बढाउनुको साटो भएकाहरुको क्षमता र स्तर बढाउनु उत्तम हुन्छ । बरु प्रत्येक प्रदेशमा सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त मातहतमा केही ठुला अस्पताल र गाउँहरुमा स्वास्थ्य चौकीहरु खोल्न र आवश्यक ठाउँहरुमा ठुला तथा आधुनिक गोदामहरु बनाउन सके स्वास्थ्य सेवाको गुणस्तर समेत बढ्ने र आवश्यक खाद्य पदार्थको भण्डारण तथा परेका बेला अस्थायी शेल्टर पनि बनाउन सकिने थियो होला ।
त्यस्तै सरकारले यी तिनै निकायहरुका लागी एक नयाँ हवाई सुरक्षा दस्ताको सृजना तत्काल गर्नु जरुरी देखिन्छ । हाल सेनाको हवाई बाहिनीले यस्तो कार्य गर्दै आएकोमा उसको अनुभवको आधारमा सो नयाँ हवाई सुरक्षा दस्तालाई तत्कालका लागी सेना कै मुख्य व्यवस्थापनमा शुरु गरे राम्रो हुने देखिन्छ । केही समय पछि जब सशस्त्र र जनपद प्रहरीमा पनि हवाई दस्ताको व्यवस्थापन गर्नसक्ने प्राविधिक र प्रशासनिक जनशक्ति तयार भएपछि भने व्यवस्थापनको पुरै काम संयुक्त रुपमा गर्न सकिन्छ ।
हाल पोखरामा नयाँ क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइरहेको सन्दर्भमा केही समय पश्चात हालको सुविधा सम्पन्न विमानस्थलको उपयोगमा निकै कमी आउने छ । यो विमानस्थललाई पनि चल्तीमा नै ल्याइरहनको निम्ति साहसिक उडानहरु र पहाडी क्षेत्रमा चल्ने साना जहाजहरु यही विमानस्थलबाट सञ्चालन गर्नु उत्तम हुन्छ । यो विमानस्थलको पुरा उपयोगको लागी भने यहाँ प्रस्तावित सुरक्षा निकायहरुको संयुक्त हवाई सुरक्षा दस्ता र सेनाको हवाई बाहिनीको मुख्य हवाइअड्डा पनि बनाउन सकिन्छ । अब कुरा आयो तत्काल विमानहरु कहाँबाट उपलव्ध गराउने भन्ने वारे । केही समय अघि छिमेकी राष्ट्र चीनबाट उपहार स्वरुप प्राप्त गरिएका र खरिद गरिएका ६ थान साना हवाइजहाजहरु नेपाल वायुसेवा निगमलाई सेता हात्ती सावित भइरहेका छन् । यी हवाइजहाजहरुको उडान खर्च अन्यको भन्दा बढी भएको तथा यिनलाई उडाउने विमान चालकहरुको नेपालमा कमी भएकाले पनि यी विमानहरु अधिकतम समय ग्राउण्डेड नै रहन्छन् । नत्र भने यी नयाँ विमानहरुमा अन्य केही खोटहरु देखिएका छैनन् । जब सरकारी स्वामित्वको विमानसेवालाई नै यी विमानहरु घाँडा भएका छन् भने किन यिनै विमानहरु संयुक्त हवाई सुरक्षा दस्तालाई हस्तान्तरण गरिदिएर नेवानीलाई उसको क्षमता मुताविक भविश्यमा केही अन्य विमान नकिनी दिने । यसो हुन सक्यो भने चीन सरकारलाई आग्रह गरेर यी जहाजहरु उडाउने पाइलट तथा प्राविधिकहरुको तालिमको व्यवस्था पनि तत्काल मिलाउन सकिन्थ्यो भने सेनाले उद्घार र व्यवस्थापनका अन्य आवश्यक तालिमहरु आपैm नै दिन सकिहाल्छ । त्यस्तै भारतलाई आग्रह गरेर त्यहीँ निर्मित केही हेलिकप्टर समेत यस्ता प्रयोजनका निम्ति सहुलियत मूल्यमा खरिद गर्न सकिन्छ । हवाई दस्तालाई सामान तथा जनशक्ति ओसार पसार गर्न स्थलमार्गमा चल्ने यातायातका साधनको पनि उत्तिकै जरुरत हुन्छ । साधारण समयमा भने यी हवाई तथा यातायातका साधनहरु सरकार र निजी क्षेत्रका आवश्यकता परिपुर्ति गर्न चार्टर गरेर केही आय समेत आर्जन गर्न सकिन्छ ।
भारत र चीनको बिचमा रहेको नेपालको भौगोलिक अवस्थितिलाई मध्यनजर गर्दा हाम्रो सम्बन्ध दुबै विशाल छिमेकीहरुसँग निकै घनिष्ट र सुमधुर छ । दुई सय वर्ष भन्दा पहिले स्थापना भएको हाम्रो सेनाका साथै हाम्रो सशस्त्र प्रहरी बल र प्रहरीका अधिकृत र जवानहरुको तालिम र बन्दोवस्तीका सामानहरुको लागी यी दुबै छिमेकी मुलुकहरुको ठुलो योगदान छ । नेपालले आफ्नो भूभागबाट दुबै छिमेकी राष्ट्रहरुको खिलाफ कुनै किसिमको आतंककारी वा अन्य नराम्रा गतिविधि हुन नदिने, बरु उनिहरु बिच सुमधुर राजनैतिक र व्यापारिक सम्बन्ध स्थापना गर्नको लागी हामी उत्प्रेरक भइरहने कुराको आश्वासन सहित सोको अक्षरशः पालना मात्र गरेको खण्डमा यिनीहरुमा हामी माथिको श्रद्घा र विश्वास अझ बढेर जाने थियो । यस्तोमा हाम्रा यी दुबै छिमेकी राष्ट्रहरुबाट सिमा सुरक्षा, दैवीप्रकोप, स्वास्थ्य, महामारी, यातायात, सञ्चार, आदीका उपकरण र बन्दोवस्तीका सामानहरु र तालिम सहज रुपले प्राप्त गर्न सकिने छ । यस्तो सहायता हामीले मुफतमा पाएको भन्दा पनि माथि उल्लेखित दुवै राष्ट्रहरुको हितका लागी हाम्रो कटिवद्घता वापतको उपहार पनि हो भन्ने सम्झनु पर्दछ । सो पनि नपुग भएमा हामीले यी दुवै छिमेकीहरुलाई सहुलियत मूल्यमा आवश्यकीय वस्तु र सेवा उपलब्ध गराउन पनि आग्रह गर्ने ठाउँहरु रहन्छन् भने नेपाललाई विभिन्न क्षेत्रमा मद्दत गर्न खोज्ने कैयन् राष्ट्रहरुले समेत यस्तो पावन कार्यको लागी अवश्य सहयोग गर्नेछन् ।

सुरक्षा कै अर्को अंग राष्ट्रिय अनुसन्धान केन्द्रले राजनैतिक गुप्तचरी मात्र गर्नुको साटो सामाजिक तथ्याङ्क समेत संकलन गरेर राख्न सके यसको पनि महत्व झनै बढ्ने थियो । मुलुकका विभिन्न प्रान्त, शहर, गाउँ, टोलमा गरिवीको रेखा मुनी कति व्यक्ति छन्, लकडाउन जस्ता सुरक्षाका उपायहरु अवलम्बन गर्दा यस्ता कति व्यक्तिहरुमा गाँस कै समस्या पर्छ, कस्ता प्रकोपमा के कति सुरक्षा बल कसरी परिचालन गर्ने, आदी इत्यादी तथ्याङ्कहरु यो निकायले अद्यावधिक गरेर राख्नुपर्छ र अन्य सुरक्षा निकायसँग समन्वयमा रहनुपर्छ ।

केन्द्रिय सरकारको सुरक्षा परिषदमा यस्ता सेवाहरुको व्यवस्थापनका निम्ति विभिन्न समितिहरु थपेर यी सबै नयाँ निकायहरुको संयुक्त व्यवस्थापन गर्न सकिन्छ भने यिनमा आवश्यक मानव संसाधनको निम्ति पनि एक भिन्दै सेवा समुह खडा गरेर अघि बढ्नु उत्तम हुन्छ । यस्ता व्यवस्थाहरुको लागी केही ऐनहरु संशोधन गर्नुपर्ने पनि हुनसक्छ । पुराना अनुभवहरुको आधारमा बेलैमा हामीले विपत् व्यवस्थापनका यस्ता उपायहरु वारे सोच राख्न सक्यौँ भने आउँदा दिनहरुमा हामीले यस्तो अवस्थाबाट सहज रुपमा पार पाउन सक्ने थियौँ ।

८ लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।