साहित्य, संगीत र कलामा लगाव नहुने व्यक्ति सीङ र पुच्छर नभएको पशु समान हुन्छ भन्ने कथन पनि समाजमा सुन्नमा आउँछ । मानिस जुनै उमेरको वा जुनसुकै व्यवसायमा संलग्न भएको भएता पनि उसमा संगीत, साहित्य वा कला र त्यसमा पनि गीत–संगीतको अलिकति भएपनि चस्को हुन्छ नै । त्यसैले त उ खुशी हुँदा वा विरहको बेला पनि आफुलाई मन परेको गीत वा त्यसको धुन गुन्गुनाउँछ वा कुनै माध्यमबाट सुन्छ, मन परेको चलचित्रको कुनै गीतको धुनसँग उ परिचित हुन्छ, र गाउँघरको लोक गीतको धुन र शव्द उसलाई कन्ठस्थ हुन्छ भने कम्तीमा पनि धार्मिक भजन तथा श्लोकहरू उसले गाउन जानेको हुन्छ । कुनै काम नभएको बेला वा घरमा एक्लै बसिरहेको बेलामा होस् वा बस तथा मोटर गाडीमा यात्रा गरिरहेको बेलामा पनि उसलाई संगीत सुनेर मन बहलाउने र समय कटाउने नै धुन जागेको हुन्छ । अरु त अरु, घर पालुवा जनावरहरू पनि घरमा संगीत बजेको बेलामा खुशी जस्ता देखिन्छन् ।
आजको व्यस्त र पहिले भन्दा धेरै विकसित समयमा मनोरञ्जनका धेरै सामग्रीहरू हामी माझ छन् । धेरै अगाडि पनि किन जानु, हामी अङ्ग्रेजको शासन शुरू हुँदाको समयको बारेमा नै घोत्लिउँ न । त्यस्तै समयको राणाकालीन नेपालतिर पनिफर्कुँ । त्यतिबेला विभिन्न जात्रा र पर्व वाहेकका अन्य समयमा शासकवर्गका मनोरञ्जनका मुख्य साधनकारूपमा खेलकुद, शिकार, मदिरापान, नाच–गान, मुजरा तथा नाटकहरू हेर्ने तथा जुवा खेल्ने जस्ता त्रृmयाकलापनै पर्दथे । माथि उल्लेखित मनोरञ्जनका साधन मध्ये पनि नेपालका रैती दुनियाँले त धार्मिक प्रवचनका कार्यक्रमहरू हुँदा र बिहान–बेलुका मठ–मन्दिरहरूमा भजन–किर्तन गर्ने, जुवा फुकेको समयमा जुवा खेल्ने र साधारण खेलकुद र चाडपर्वमा नाचगान गर्ने मात्र हुन्थे । भजन–किर्तनकै कारण गीत–संगीतमा धेरै नेपालीहरू सौख राख्ने भएका थिए । त्यसैले पनि हाम्रा कैयन् अग्रज गायक–गायिका तथा संगीतकारहरू भजन मण्डलीबाट नै संगीतको फाँटमा आएका हुन् । त्यतिबेला भारतका विभिन्न धार्मिक स्थलबाट वेद, पुराण तथा अन्य धार्मिक प्रवचन सुनाउन धर्मगुरुहरू आफ्ना मण्डलीलाई लिएर नेपाल आउँथे र दरवारमा वाहेक त्यस्ता प्रवचनहरू धार्मिक स्थलहरूमा आमजनताको निम्ति पनि दिने गर्दथे । त्यस्ता धार्मिक कार्यक्रमहरूको विशेष आकर्षण पनि भजन–किर्तन नै हुने गर्दथे ।
त्यस्तै त्यतिबेला देखि नै खासगरी अङ्ग्रेजहरूको सिको सिकेर नेपाली सेनामा व्याण्ड गुल्मको स्थापना गरिएको थियो । सन् १८८० को डिसेम्बर १८ तारिखमा जङ्गबहादुरका भाई रणोद्दीपसिंह प्रधानमन्त्रीको रूपमा कलकत्ताको भ्रमणमा जाँदा उनको ठूलो भ्रमण दलमा ४५५ जना रहेका र ती मध्ये ५० जना व्याण्ड गुल्मका बाजा बजाउने सैनिकहरू पनि सामेल गरिएका थिए रे । राणाशासनको वखतमा बेला बेला भारतबाट संगीतका उस्तादहरू बोलाएर सांगीतिक कार्यक्रम पनि गरिन्थ्यो र गीत तथा कविता सम्मेलनहरूको पनि आयोजना गरिन्थ्यो ।पृथ्वीनारायण शाह भन्दा पनि धेरै पुस्ता अघिदेखि नगारा बजाउने नगर्ची र पञ्चेबाजा बजाउने वाद्यवादकहरू नेपाली राजप्रासादको सेवामा राखिने परम्परा थियो। प्रजातन्त्रको आगमनसँगै भारतबाट संगीतको क्षेत्रमा निक्कै उच्च मुकाम बनाइसकेका नेपालीका साथै भारतीय उस्ताद र वाद्यवादक पनि नेपालमा आएर काम गर्न शुरु भयो। भारतको दार्जिलिङ क्षेत्रका कैयन नेपाली मूलका गायक तथा संगीतकर्मीहरू नेपालमा राम्रो आम्दानी हुने भएकाले शिक्षक तथा संगीतज्ञको रूपमा यता आउन थालेको २००७ साल पछि नै हो । नेपाल प्रहरीको स्थापना पश्चात प्रहरी र सेनाले संगीतलाई टेवा पुग्ने धेरै कामहरू गरे । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको स्थापना साहित्य तथा संगीतप्रेमी राजा महेन्द्रले गरेपछि यो प्रतिष्ठानमा धेरै संगीतकर्मीहरू आवद्ध हुन पुगे । उनैको आग्रहमा दार्जिलिङबाट अम्बर गुरुङजस्ता गायक तथा संगीतकार नेपालमा आएर स्थायी बसोवास नै गर्न थाले र संगीतको विकासमा निक्कै धेरै योगदान समेत गरे। प्रज्ञा प्रतिष्ठानले नै नेपालका विभिन्न स्थानहरूमा गाइने र नाचिने गीत तथा भाकाहरूको धेरै अनुसन्धान र संकलन ग¥यो । संगीतको विकासमा सांस्कृतिक संस्थान, रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानको पनि ठूलो योगदान रहेको छ । राणाशासन हटाउने २००७ सालको क्रान्तिको क्रममानेपालकी प्रथम महिला गायिका रानुदेवी अधिकारीले नेपाली काङ्ग्रेसको रेडियोबाट क्रान्तिकारी गीतहरू गाएको र २०१५ सालको आमचुनावमा नारायण गोपालले पुष्पलालको चुनावी सभामा गीत गाएका कुराहरू पनि इतिहासमा पढ्न पाइन्छ।
काठमाडौँ उपत्यका आपैmनै विभिन्न पर्व, जात्रा, नाच र गायन क्षेत्रको विशाल संस्कृति बोकेको नेपालको ज्यादै महत्वपूर्ण स्थल हो । लिच्छवी कालदेखि नै यहाँ विभिन्न भेषभुषा सहित सयौँ प्रकारका नाचगान र भजन–किर्तन मौलाएका थिए । धर्म, कर्म, ऋतु, वर्षात्, जाडो, गर्मी, जन्म, मृत्यु, हर्ष, उल्लास, विश्मात, युद्ध, वीरता र शान्ति आदि सबै कुराहरू बारे नाचगान मार्पmत वर्णन गर्ने कलाको विकास यो उपत्यकामा भएको थियो र यहाँका गुठीहरूले त्यस्ता अधिकांश नाचगान तथा वाद्यवादनलाई लोप हुनबाट बचाइरहेका छन् आजको दिनसम्म पनि । भक्तपुर र ललितपुर महानगरपालिका विशेषतः आफ्ना सांस्कृतिक सम्पदाहरूको संरक्षणमा बढी अग्रसर भएको पनि पाइन्छ । यस्तै संरक्षणको काममा त्रिपुरेश्वरस्थित नेपाली बाजा संग्रहालयले पनि निक्कै धेरै काम गरिरहेको छ ।
म पनि स्कूले बालक छँदादेखि नै संगीतलाई निक्कै रुचाउँथे । आमा र दिदीले सुताउँदा सुनाउने लोरी र खाना खुवाउँदा गाउने विभिन्न गीत, विद्यालयमा सिकाइने नर्सरी राइम्स, त्यतिबेलाको रेडियोमा बज्ने खासगरी तारादेवी, कोइलीदेवी, अरुणा लामा, दावा ग्याल्मो, तीर्थकुमारी, गङ्गा मल्ल, नारायण गोपाल, गोपाल योञ्जन, मास्टर रत्नदाश प्रकाश, प्रेमध्वज प्रधान, अम्बर गुरुङ, बच्चु कैलाश, हरिप्रसाद रिमाल, फत्तेमान राजभण्डारी, नातीकाजी, शिवशंकर, कुमार बस्नेत, लालबहादुर खाती आदि थुप्रै गायकहरू र त्यसपछिको पिँढीका प्रख्यात नेपाली गायक–गायिका र भारतीय कलाकारहरूका गीत, आमाले खाना पकाउँदा गाउने पुराना हिन्दी फिल्मी र नेपाली गीत, तथा पिताजीले सुन्ने गरेका खासगरी पुराना हिन्दी, उर्दू र अङ्ग्रेजी गीत र पूर्वीय तथा पश्चिमा धुनहरूबाट म निक्कै परिचित र प्रभावित हुँदै गएको थिएँ । वि.सं. २०२० को दशकमा मेरा पिताजी नेपाल राष्ट्र बैङ्कमा कार्यरत छँदा त्यहाँ रूवी जोशी, कल्याण रिमाल र बिजु रिमाल जस्ता त्यतिबेलाका ख्याती प्राप्त गायक तथा गायिका पनि काम गर्दथे । बैङ्कका पिकनिकहरूमा उनिहरूले खुबै राम्रा राम्रा गीतहरू गाएर सबैलाई हर्षित बनाउँथे । हाम्रा पिताजी संगीतमा निक्कै सौखिन हुनुका साथै बाँसुरी पनि बजाउनु हुँदोरहेछ बनारसमा अध्ययनको सिलसिलामा बस्दा । उहाँले त्यहाँ एकजना गुरु कहाँ नै गएर बाँसुरी र संगीतका केही आधारभूत कुराहरू सिक्नु भएको रहेछ ।
स्पुलको जमानादेखि रेकर्ड प्लेयर, क्यासेट प्लेयर, विभिन्न प्रकारका रेडियो आदि जुनै पनि संगीत बजाउने उपकरण अन्तर्राष्ट्रिय बजारमा आएपछि उहाँ खरिद गरेर घरमा ल्याई हाल्नु हुन्थ्यो । उहाँका मन परेका भारतीय र पाकिस्तानी गायक गायिकामा सि.एच. आत्मा, महेन्द्र कपुर, अशोक कुमार, किशोर कुमार, मोहम्मद रफी, मन्नाडे, मेहदी हसन, बडे गुलाम अली, गुलाम अली, आलम लोहार, लता मङ्गेश्कर, गीता दत्त, नुरजहाँ, फरिदा खानम, नैयारा नुर आदि थिए । काठमाडौँको खिचापोखरीमा हालको पशुपतिप्लाजा र चौधरी ग्रुपको कार्यालय बीचको ठूलो घर हाम्रो मामाघर हो । सो घरको मुनीको एउटा पसलमा नेपाली, हिन्दी र अङ्ग्रेजी गीतका रेकर्डहरू विक्री हुन्थे । हामी मामाघर गएपिच्छे हाम्रा पिताजी र माताजी दुवैजना सो पसलमा पसेर आफुलाई मन परेका रेकर्डहरू खरिद गर्नुहुन्थ्यो । त्यतिबेला क्यासेट प्लेयरको उत्पादन शुरु भएको थिएन र रेकर्डले स्पुललाई बिस्तारै बिस्तापित गर्दै थियो । रेकर्डहरू लङ्ग प्ले र सर्ट प्ले गरी दुई प्रकारका ठूला र साना प्लास्टिकका चक्काका रूपमा पाइन्थे । क्यासेट प्लेयर बजारमा आउन थाले पछि रेकर्डहरू भद्दामा गनिन थाले र विस्तारै लोप हुन थाले । त्यसपछि क्यासेटलाई पनि कम्प्याक्ट डिस्क र सो पनि डिजिटल प्रणालीले गर्दा लोप हुने अवस्थामा पुगे । तर आज आएर युरोप, अमेरिका र अष्ट्रेलिया तिर पुनः रेकर्ड प्लेयरको प्रचलन र विक्री शुरु भएको छ ।
मभन्दा १० वर्ष जेठी दिदीले सिलोन रेडियो तथा अल इन्डिया रेडियोमा नियमित सुन्ने गरेका बिनाका गीतमाला जस्ता लोकप्रिय कार्यक्रम तथा रेडियो नेपालबाट बजाइने विभिन्न आधुनिक र लोक गीतहरू सुनेर मलाई पनि गीत–संगीतमा लगाव बस्दै गयो । आफुलाई मन पर्ने गीत कन्ठस्थ बनाउन र स्कूलमा साथिहरूलाई सुनाउन त्यतिबेला हामी सबै साथिहरू निक्कै आतुर हुन्थ्यौँ । प्रत्येक शुक्रबार स्कूलमा कविता वाचन तथा गीत–संगीतका कार्यक्रम पनि आयोजना गरिन्थे । हाम्रो विद्यालय भानुभक्त स्मारक माध्यमिक विद्यालयमा त्यतिबेला नारायण योञ्जन र पूर्ण पथिक नेपालीहरू संगीत संयोजन र सांस्कृतिक कार्यक्रमको निम्ति सक्रिय थिए भने शम्भुजित बाँसकोटा हामी भन्दा केही कक्षा माथि अध्ययन गर्दथे । विद्यालयको वार्षिकोत्सवहरूमा हामीलाई गीत–संगीत सिकाउन अन्य कलाकारहरू पनि आउँथे र हामी काठमाडौँका विभिन्न हलहरूमा आयोजना हुने विद्यालयस्तरका समूह गायनहरूमा भाग लिने गर्दथ्यौँ ।
आफुभन्दा ८ वर्ष जेठा दाजुले रेडियो नेपालमा समेत गीत गाउने उनका साथिहरूलाई घरमा बोलाएर बाजा–गाजाका साथ गीतको साधना गर्दा र अर्का आफुभन्दा ६ वर्ष जेठा दाजुले कलेजमा रोजेको संगीत विषय अन्तर्गत विभिन्न राग र ठाँटको अभ्यास घरमा बिहान बेलुका गर्दा आफु पनि संगीतकै क्षेत्रमा अघि बढौँ जस्तो जोश जागेर आउँथ्यो । जेठा दाजुकै साथिहरूले बजाउनको निम्ति ल्याएका बाजाहरू मध्ये मैले पनि सबैभन्दा पहिले बेन्जु बजाउन सिकेँ र सानै उमेरमा सो बाजा बजाउन माहिर पनि भएँ । त्यस्तै दाजुका अर्का साथि रमेश गौतमले गितार बजाएको देखेर र उनीसँग केही आधारभूत कुराहरू सिकेपछि म पनि हल्का फुल्का बजाउन सक्ने भएँ । टोल छिमेकका साथि विपुल जोशी र उसका तीनै जना दाजुहरु संगीतमा निक्कै पोख्त थिए । उनिहरूको घरमा यदाकदा दिप श्रेष्ठ पनि आउने गर्दथे । स्कूल पछिको मेरो समय त्यहीँ उनिहरूले गाएको सुनेर र आफुले पनि साथि विपुलसँग नेपाली र अङ्ग्रेजी गीत गाएर बित्दथ्यो ।
मेरा जेठा दाजुको सांगीतिक समूहले हाम्रो घरमा त्यतिबेलाका नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज, दिप श्रेष्ठ आदिका समसामयीक गीतहरूका साथै कुमार बस्नेत, लेकाली समूह आदिका लोक गीत र राल्फा समूहका क्रान्तिकारी गीतहरूको पनि अभ्यास गर्दथ्यो । म खुवै ध्यानसँग उनिहरूको अभ्यासलाई श्रवण गर्दथेँ । उनिहरू ती गीतहरू विभिन्न ठाउँहरूमा र सांस्कृतिक कार्यक्रमहरूमा गाउने गर्दथे । क्रान्तिकारी गीतहरू गाउँदा कहिले काहीँ पञ्चायती सरकारका प्रहरीहरूको खप्की पनि खान्थे उनिहरू तर पक्राउ नै भने परेका थिएनन् । त्यतिबेला हाम्रो टोल छिमेकमा पाण्डव सुनुवार, वासुदेव मुुनाल, बिजयसिंह मुनाल, सि.के. रसाइली, जयनन्द लामा, प्रेमराना औतारी, जे.बी. लामा आदि पनि बस्ने भएकोले हाम्रो उनिहरूसँग राम्रै परिचय थियो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वर्षेनी नाटक महोत्सव र गाईजात्रा कार्यक्रम आयोजना गर्दथ्यो । मैले पनि केही नाटकहरू तथा हाँस्य व्यङ्ग्य कार्यक्रममा बाल कलाकारको रूपमा काम गरेको थिएँ । त्यस्ता नाटकहरूमा समावेश गरिने गीतहरू प्रायःजसो प्रज्ञा प्रतिष्ठानमा नै त्यहाँका कलाकार र प्राविधिक टोलीको सहयोगमा रेकर्ड गरिन्थ्यो । त्यतिबेला प्रज्ञा प्रतिष्ठानसँगअम्बर गुरुङ, दिप श्रेष्ठ, दिपक जङ्गम, जयनन्द लामा, सूर्य थुलुङ, तारा थापा आदि संगीत क्षेत्रका हस्तीहरूका साथै विजय मल्ल, लैनसिंह वाङ्देल, सूर्यविक्रम ज्ञवाली, भूपि सेरचन, सत्यमोहन जोशी, प्रचण्ड मल्ल आदि पनिसम्वद्ध थिए र त्यहाँको माहौल निक्कै कलामय थियो ।
मेरा पिताजीलाई विभिन्न मुलुकका राजदूतावास तथा पुस्तकालय र सांस्कृतिक केन्द्रहरूबाट सांस्कृतिक कार्यक्रम, चलचित्र र डकुमेन्ट्री, सर्कस र नाच–गानका कार्यक्रमहरू हेर्ने निम्तो आइरहन्थ्यो । त्यस्ता अवसरहरूमा उहाँ हामी छोराछोरी मध्ये कहिले कसलाई त कहिले कसलाई लिएर जानु हुन्थ्यो । मैले पनि पिताजीको साथमा निक्कै पटक भारतीय राजदूतावासमा भारतीय संगीतको कार्यक्रम, व्रिटिश र अमेरिकी पुस्तकालयमा पाश्चात्य संगीत र चलचित्रका कार्यक्रम र अन्य दुतावासहरूमा पनि त्यस्तै प्रकारका कार्यक्रमहरू हेर्ने अवसर पाएको छु । त्यस्तै राजा वीरेन्द्रको शुभ–राज्याभिषेकको तयारीको क्रममा दशरथ रङ्गशालामा महिनौँसम्म शारिरीक व्यायामको प्रदर्शनका लागि हाम्रो विद्यालयबाट मपनि चुनिएको थिएँ । मिनपचासको बिदाको समयमा दिनहुँ दशरथ रङ्गशालामा गएर पिटी खेल्दा बजाइने बाजाको मिठो धुन, त्यहाँ अभ्यास गरिने राष्ट्रिय तथा लोक गीतहरू र ड्रमको धुन सुन्दा सुन्दा पनि संगीतमा एक प्रकारको लगाव बढ्दै गएको थियो । त्यस्तै समयतिर काठमाडौँमा मानसिंह गुरुङ नामका एक गीतारवादक निक्कै चर्चामा थिए । उनको व्याण्डको कार्यक्रम हेर्न म पनि दाजुहरूसँग पछि लागेर जान्थेँ । अम्बर गुरुङका छोराहरू किशोर, राजु र शरद गुरुङको पनि निक्कै लोकप्रिय व्याण्ड थियो–द ब्रदरहुड । त्यस्तै अन्य व्याण्डहरूका कार्यक्रमहरू पनि भइरहन्थे र दर्शकहरूको पनि तँछाड–मछाड हुन्थ्यो ।